स्याङ्जाको वालिङमा भेटियो सुँगुरे भालु


स्याङजा : वालिङमा लोपोन्मुख अवस्थामा रहेको सुँगुरे भालु भेटिएको डिभिजन वन कार्यालय स्याङजाले जनाएको छ । सुँगुरको जस्तै लामो थुतुनो, शरीरभरि बाक्ला, लामा काला र सेता धर्से रौं र लामा नङग्रासहितको वन्यजन्तु बस्तीनजिक आएपछि गाउँलेले समाएर वन कार्यालयमा खबर गरेका हुन् ।   

भालु वालिङ् नगरपालिका–११ को तल्लो पेखु ओराले भन्ने ठाउँमा बारीका भेटिएको स्थानीयले जानकारी दिएका छन् । घर नजिकैको बारीमा हिँडिरहेको देखेपछि स्थानीयले घरमा ल्याउपछि स्थानीय सुरेश अर्यालले कार्यालयमा खबर गरेका हुन् । 

अनौठो प्रजातिको वन्यजन्तु देखेपछि गाउँलेले समाएर घरमा ल्याएर दूध खुवाएर राखे । उसले दूध खायो । त्यसपछि कार्यालयमा खबर गरेका हुन् । भालुलाई सोही दिन साँझ भेटिएको स्थाननजिकैको पेखु सामुदायिक वनमाछाडिएको डिभिजन वन कार्यालय स्याङ्जाका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । 

‘सुँगुरे भालु स्याङ्जामा पहिलो पटक देखिएको हो ।’ प्रमुख काफ्लेले भने–‘नेपालमा पाइने एक प्रकारको जनावर हो । अहिले यो दुर्लभ मानिन्छ ।’  काफ्लेका अनुसार धु्रवीय भालु पूर्णरुपमा मांशहारी हुन्छ भने यसकै अर्को प्रजाती ठूलो पाण्डा बाँस मात्र खाएर बाँच्ने गर्दछ । यी दुई प्रजातिबाहेक ६ प्रजातिका भालुहरू जसले वनस्पति र जनावर दुवैलाई आफ्नो आहार बनाउने गर्छन् । 

यसको लामो थुतुनो, रौंहरूले ढाकेको खुट्टाहरू, लामा र बलिया नङ्ग्रा भएका पन्जाहरू र छोटो खालको पुच्छर हुन्छ । भालु एक हिँस्रक तथा खतरनाक जनावर हो । 
भालुहरू एक्लै हिड्ने र एकान्तप्रिय जनावरहरू हुन् ।  भालुको सुंघ्ने क्षमता तीक्ष्ण हुन्छ । ठूलो र रौं भरिएको भद्दा जीऊ भएपनि छिटोछिटो दौडिन, रुखमा चढ्न र पानीमा पौडन भालु निपुण हुन्छन् । मानव बस्तीनजिक बस्ने भालुहरू साँझपख र राति पनि सक्रिय हुने गर्छन । यिनीहरु गुफा र खाडलहरूमा बस्ने गर्दछन् । 

विभिन्न जातजाती र समुदायहरूको कला, धर्म र सांस्कृतिक सम्पदामा भालुको महत्वपूर्ण भूमिका रहन्छ । मानिसले अनावश्यक हस्तक्षेपका कारण भालु लोप हुने अवस्थामा पुगेको छ । भालुको छाला, भुत्ला र औषधियुक्त गुण भएको पित्त लगायत विभिन्न अंगहरूको समेत अवैद्य व्यापार हुने गरेको छ।